हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ओलीलाई शुभकामना

कमन देवान
एमाले नवौं महाधिवेशनपछिको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ । मंगलबार साँझ सार्वजनिक पधाधिकारीतर्फको मत परिणाम अनुसार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले ३९ मत बढी प्राप्त गरेर अध्यक्ष पदका प्रत्यासी पूर्व पार्टी महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गर्न सफल भए । अध्यक्ष पदमा विजयी ओली समूहबाट उपाध्यक्षहरुमा बामदेव गौतम र विद्यादेवी भण्डारी, महासचिवमा इश्वर पोखरेल, उप(महासचिवमा विष्णु पौडेल र सचिवहरुमा प्रदीप ज्ञवाली र  पृथ्वी सुब्बा गुरुङ निर्वाचित भए । त्यस्तै नेपाल समूहबाट उपाध्यक्षहरुमा भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उप(महासचिवहरुमा योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम आचार्य निर्वाचित भएका छन् । यतिसम्मको तथ्याङ्कलाई केलाउँदा पार्टीको मूल नेतृत्व र सांगठानिक पहुँचमा ओली पक्षको पकड दर्विलो मान्न सकिन्छ । तथापि पदाधिकारीहरुको संख्यात्मक स्थिति र सामूहिक निर्णय पद्धतिलाई आत्मसाथ गरेर अघि बढेको खण्डमा दुई समूह वा प्यानलमा विभाजित भएर चुनाव लडेका नेपाल(ओली समूह मध्ये ७(७ पदाधिकारीको जीतले एमालेलाई दुवै समूहको स्थिति बराबर भएको जनाउ दिएको छ ।
तथापि केन्द्रीय सदस्यहरुको नतिजा भने ओलीको पक्षमा स्पष्ट बहुमत सहित सार्वजनिक भएको छ । १ सय १४ जना केन्द्रीय सदस्यमा ओली पक्षका ६४ जना र नेपाल पक्षका ४७ जनाले सफलता पाएका छन् । त्यस्तै बैकल्पिक केन्द्रीय सदस्यमा समेत ओली पक्षकै अग्रता रहेको हुँदा अबको एमाले केन्द्रीय समितिमा  ओली पक्षले बुहमतका साथ पार्टी गतिविधि गर्न सक्ने स्पष्ट भएको छ । विशेषतः कम्युनिष्ट पार्टी नामधारी राजनीतिक दलहरुमा विचार र नेतृत्वको एकरुपतालाई महत्व दिने प्रचलन पुरानै हो । यस पटकको नवौं एमाले महाधिवेशनमा भने ओली पक्षको स्पष्ट बुहमत आए पनि नीति तथा कार्यक्रम चाँहि नेपाल पक्षको पारीत भएको चर्चा चुलिन थालेको छ । यदि एमालेले आफूलाई कम्युनिष्ट धंधंगीमै अल्मलाउने र विचार एउटा पक्षको र नेतृत्व अर्को पक्षको भन्दै विवादमा रुमलिन खोज्यो भने उसका अन्य अनावश्यक समस्याहरु सृजना भएर जाने खतरालाई नकार्न सकिन्न ।
एमालेका नेताहरुले दुई वटा अलग अलग समूहमा विभाजन भएर चुनाव लड्नुलाई लोकतान्त्रिक अभ्यासको सम्मान हो भन्नु एउटा तर्क हो । तर, त्यसले पार्टी सञ्चालन एवम् पार्टी जीवन र गतिशीलतालाई कतै न कतै खलल पुग्ने नै देखिन्छ । यो वास्तवमै गम्भीर समस्या सृजना हुने स्पष्ट नै विषय हो । अबमा दिनमा समूहमा विभाजन भएका कारण कोरिएका सीमारेखाहरु मेट्ने कार्य गर्नु ओली नेतृत्वको एमाले पार्टीको पहिलो दायित्व हो । एमालेमा विगतदेखि नै गुटगट राजनीतिले स्थान पाउँदै आउनु उसका लागि दुर्भाग्य त हो नै । मुलुकको जिम्मेवार राजनीतिक दल भएका नाताले र सबै भन्दा बढी संगठित सदस्य भएको पार्टी हुनुका नाताले पनि एमालेभित्र गुट राजनीति हावी हुँदा उसका राष्टिूय राजनीतिक निर्णयहरु फितलो बन्ने तथा उसले मुलुकका निम्ति सही समयमा खेल्नु पर्ने रचनात्मक भूमिकाको अभाव हुने स्थिति नौलो होइन ।
ओली पक्षको जीतलाई समग्र एमाले जनको जीतका रुपमा रुपान्तरण गरेर एमालेले मुलुक र जनताका लागि सही नीति तथा कार्यक्रम निर्माण गरेर अघि बढ्न सक्छ कि सक्दैन ? भोलिका दिनमा देख्न सकिने कुरो हो । तर यतिबेला भने एमालेले हौसिएर वा निरास भएर भन्दा पनि गम्भीर बनेर आगामी दिनका लागि रणनीतिक योजनाका साथ काम गर्न आवश्यक छ । एमाले पार्टीलाई नवौं महाधिवेशनले विभाजनको भाषमा पु¥याएको देख्न र सुन्न नपरोस् । अहिलेको परिस्थितिलाई सुधारेर लैजाने र सबै नेता कार्यकर्ता तथा पार्टी पंक्तिलाई चित्त बुझाउने, उचित भूमिका दिने र समेटेर अघि बढ्ने जिम्मा अब ओलीको काँधमा आइपुगेको छ । ओलीलाई सफल पार्टी नेतृत्वका लागि अग्रिम शुभकामना ।

सहकारी : लैङ्गिक समानता र सशक्तीकरण

नेत्रप्रसाद घिमिरे
महिला र पुरुषको संगमबाट नै मानव समाजको निर्माण भएको व्यहोरा नकार्न मिल्दैन । यस अर्थमा यी दुवैको सामाजिक मान्यता बराबर हुनुपर्ने हो । तर व्यवहारमा यो हुन सकिरहेको पाइदैन । विकसित मुलुकमा समेत महिला पुरुषबीचको विभेद, लैङ्गिक असमानताका चर्चा भई नै रहेका छन् । खासगरी गरीब र अविकसित मुलुकमा यो विभेद चर्को मात्रामा पाइन्छ । छोराको जन्म हुँदा आमाबाबु जुन हदमा खुशी भएको पाइन्छ, त्यही खुशीयाली छोरीको जन्ममा किन हुँदैनन् ? किन महिलालाई गृहिणीको रुपमा मात्र सीमित गर्न खोजिएको छ ? किन छोरालाई बोडिंग स्कूल पढाइन्छ र छोरीलाई स्कूल पठाउन नै इन्कार गरिन्छ ? यी प्रश्नहरू नै अनुसन्धानका विषय बनेका छन् । विवाह गरेपछि छोरी अर्काको घर जान्छे, छोराले आफ्ना बाबु आमालाई बुढेसकालमा हेरचाह गर्छ, मरेपछि पिण्ड दान दिन्छ, छोरा सम्पत्ति हो र छोरी नासो वा ऋण हो । छोरा कमाइ गर्ने शक्ति हो, बुहारी गृहलक्ष्मी मात्र हुन् आदि अवधारणा समाजमा व्याप्त छ । यी जस्ता कारणले गर्दा महिला र पुरुषबीच विभेद कायम गरिएको छ । अतितदेखि चल्दै आएका यस्ता मिथ्या तर्कलाई निरन्तरता दिँदै जाने हो, लैंिङ्गक समानता र महिला सशक्तीकरणका लािग जेहाद नछेड्ने हो भने गरीब एवम् अविकसित मुलुकको विकास सम्भव देखिन्न । जबसम्म महिला र पुरुपलाई एउटै रथका दुई पाङ्ग्राका रुपमा स्वीकारिन्न, जबसम्म महिलाहरूलाई पनि विकास निर्माण र आधुनिकीकरणको महायज्ञमा संलग्न गराइन्न, तबसम्म राष्ट्रको उत्थान सम्भव देखिन्न ।
तर जैविक रुपमा महिला र पुरुषबीच भिन्नता छ जस्तै पुरुषत्व, पुरुष आवाज, प्रोस्टेट ग्रन्थी, एक्सबाइ क्रोमजोम, दाढीजुगा आदि पुरुषवर्गसँग सम्बन्धित छन् भने नारीत्व, महिला आवाज, पाटेघर, एक्सएक्स क्रोमजोम आदि महिलावर्गसँग सम्बन्धित छन् । निर्णय क्षमता, बल चाहिने परिश्रम, नेतृत्व, जोखिम लिने, माया, दया जस्ता केही शारीरिक तथा मानसिक गुणमा पनि भिन्नता हुन्छ । यही जैविक आधारमा लैङ्गिक असमानता कायम राख्न नपाइने भन्दै मानवअधिकारकर्मीहरू तथा नारीवादीहरूले लैङ्गिक समानता र महिला सशक्तीकरणको अवधारणा अगाडि सारेको पाइन्छ । नारी स्वतन्त्रता र समानताका लागि महिलाहरूले अतितदेखि नै लामो संघर्ष गर्दैै आएको विश्व इतिहास साक्षी छ । फ्रान्स, इटलीमा गर्भपतन वैध गराउन महिला समूहले निर्वाह गरेको सक्रिय भूमिका, केन्याली महिलाहरूले स्वाधीनताका लागि लडेको गुरिल्ला युद्ध, स्पेनबाट फिलिपिन्सको स्वाधीनताका लागि भएको संघर्ष तथा चीन, भारतमा संचालित लैंगिक असमानताविरुद्ध गरेका आन्दोलन, आङसाङ सूकी, मंगलादेवी सिंह, शैलेजा, साहना प्रधानहरूले गरेको संघर्ष केही उदाहरण मात्र हुन् । सर्वप्रथम १९१० मा सर्वप्रथम अमेरिका, चीन, ब्राजिल र डोमेनिक गणतन्त्रका महिलाहरूले महिलाहरूलाई पुरुषसरह अधिकार प्रदान गर्न आवाज उठाए । महिला विकासका सम्बन्धमा विभिन्न शैली विगतमा अबलम्बन गरिए जस्तै १९६० मा कल्याणकारी अवधारणा, १९७० मा विकासमा महिला वा समता अवधारणा, १९८० मा लिङ्ग र विकास वा लैङ्गिक समानताको अवधारणा, १९९० पछि महिला सशक्तीकरण अवधारणा जस्ता अवधारणाहरू अगि सारी कार्यान्वयन गरिए । प्रथम विश्व महिला सम्मेलन १९७५ मेक्सिकोमा, दोस्रो सम्मेलन १९८०, तेस्रो १९८५ नैरोवीमा, चौथो सम्मेलन १९९५ चीनमा सम्पन्न गर्रिएको छ । प्रथम विश्व महिला सम्मेलनपछि महिलाविरुद्ध विद्यमान शोषण, दमन र सबै किसिमका भेदभाव हटाउन संयुक्त राष्ट संघले १९७९ डिसेम्बर १८ मा महिलाउपर हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धी पारित गरी १९८१ सेप्टेम्बर ३ देखि कार्यान्वयनमा ल्याएको छ ।
लैङ्गिक विभेदकै कारण विश्वमा द्रुत गतिमा कहालीलाग्दो गरी फैलिएको एड्स, बढ्दो देह व्यापार, यौनदासता, चेलीवेटीको बेचविखन, बलात्कार, दाइजो मृत्यु, बेरोजगार, सामाजिक असुरक्षा, इच्छाविरुद्ध विवाह, बालविवाह, दाइजो प्रथा, देउकी, बादी, झुमा प्रथा, पारिवारिक सम्पत्तिको हकवाट बञ्चित, स्वतन्त्र घुमफिरमा बन्देज, घरभित्रका कामको लेखाजोखा नहुनु आदि प्रकरणले धेरै मुलुकलाई आक्रान्त पारेको छ । यो सामाजिक रोगको निदान कुनै व्यक्ति वा राष्ट्रको एक्लो प्रयासबाट मात्र सम्भव देखिन्न अत जबसम्म समाजको आधा आकाश ओगटेको महिला समुदाय नै सशक्तरुपमा ग्रामीण तहदेखि राष्ट्रिय ताहसम्म समन्वयात्मक ढंगले एक आपसमा आवद्ध हुँदैनन्, तबसम्म लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य हसिल गर्न सकिदैन । जैविक भिन्नताकै आधारमा भेदभाव गर्नुहुदैन, महिला र पुरुषवीच समान हैसियत कायम गर्ने, दुवैलाई समान अवसर र लाभ प्रदान गर्ने, विभेदपूर्ण पितृसत्तात्मक मूल्य मान्यता मनोवृत्ति र धारणा परिवर्तनगरी बराबरीको अवस्था सिर्जना गर्नुपर्दछ भन्ने अवधारणा लैङ्गक समानता हो । आरक्षण वा थप सुविधाहरू प्रदान गरी क्षतिपूर्ति सहित न्यायोचित एवम् निष्पक्ष व्यवहारद्धारा महिलाको विकास गर्ने अवधारणा नै लैङ्गिक समता हो । लैङ्गिक समता र समानता ध्यान दिदै महिला भनेका सन्तान उत्पादन गर्ने मेसिनको रुपमा व्यवहार नगरी उनीहरूको चौतर्फी विकास र आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा पहुँच स्थापित गर्ने समग्र प्रक्रिया बोकेको अवधारण महिला सशक्तीकरण हो ।
नेपालमा विद्यमान सामाजिक कुरीति, कानुनी भेदभाव र चेतनाको अभावले गर्दा महिलाहरूले समाजमा उचित स्थान र आदर प्राप्त गर्न सकेका छैनन् । दातृराष्ट र अन्तर्राष्ट्रिय संगठनको निरन्तर सहयोग र सद्भावनाको बाबजुद यस क्षेत्रमा पनि विकास र आधुनिकीकरणले गति लिन सकेको छैन । महिला र पुरुषबीचको भेदभाव हट्न सकेको छैन । यो भेदभाव हटाउन नारी शिक्षामा पहल गर्नुपर्दछ । विकास निर्माणमा महिलाहरूलाई पनि सहभागि बनाउनुपर्दछ । भेदभावपूर्ण कानुन संशोधन गर्नुपर्दछ । नेपाली समाजमा महिलामाथि हुने सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक हिंसा अन्त्य गर्न प्राथमिक तहदेखि माध्यमिक तहसम्म स्कूलका पाठ्यक्रममै पाठ्यक्रसामग्री समावेश गर्नुपर्दछ । खास समस्या शक्ति संरचनामा छ बाँकी कुरा झिनामसिना हुन् । कार्यस्थलमा विवाह गरेका महिला वा वालकसहितका महिलाहरूलाई समस्या पर्दछ । त्यसैले महिलाहरूलाई भोगविलासका साधन अथवा सन्तान उत्पादनका वस्तुका रुपमा मात्र नहेरी समाज परिवर्तन, विकास र आधुनिकीकरणका सम्वाहक एवम् शक्तिका रुपमा स्वीकारिनुपर्दछ । यसक्रममा महिला र पुरुषबीच विद्यमान असमानता र भेदभाव कसरी कम गर्ने, बेइजिंग दस्तावेज कसरी कार्यान्वयन गर्ने, कसरी सरोकारवाला निकाय संघसंस्थाहरूबीच समन्वय गरी लक्ष्यअनुरुपको कार्य सम्पादन गर्ने गराउने र अन्तत कसरी प्रत्येक महिलालाई आफू पनि समाजमा पुरुषसरह सम्मानित भएको छु भनी प्रत्याभूति दिलाउनेबारे आवश्यक कार्य गर्न जरुरी छ ।
आर्थिक सामाजिक शोषणबाट मुक्ति दिलाउन सक्ने संस्थागत शक्ति सहकारीमा रहेको हुन्छ । महत्वपूर्ण कुरा के भने लिंगभेद गर्न यसको सिद्धान्तले दिदैन । सहकारीको सिद्धान्तले लिंगभेद गर्न नदिए पनि विविध कारणले महिलाहरू अझै पछाडि पारिएका छन् । महिलाहरूद्धारा मात्र सञ्चालित सहकारी बाहेक मिश्रित सहकारीहरूको नेतृत्वतहमा महिलाको उपस्थिति न्यून नै छ । सहकारी बैकमा एक जना, नेफ्स्कूनमा दुई जना र राष्ट्रिय सहकारी संघमा दुईजना महिलाहरू मात्र सञ्चालकमा रहेको पाइन्छ । महिलाहरूको सशक्तीकरण गर्न विषयगत संघहरूले तथा राष्ट्रिय सहकारी संघ लि.ले महिला सहभागिता बढाउन आवश्यक रहेको छ । नेपाल जस्तो पितृसत्तात्मक समाजमा लैङ्गिक समता र सशक्तीकरणमा सहकारी सिद्धान्त एउटा कोशे दुंगा सावित हुने देखिन्छ । समाज परिवर्तन जवरजस्ती क्रान्तिकारी रुपमा नहुने भएकाले मध्यमार्गी पद्धति अवलम्बन गर्ने सहकारी मार्फत बिस्तारै सकारात्मक सामाजिक परिवर्तन सहकारीमार्फत सम्भव छ । यसका संकेत पनि सकारात्मक देखिएका छन् । नेपालको अन्तरिम संविधानमा सहकारी सहितको तीन खम्बे अर्थनीति सहित हरेक क्षेत्रमा ३३ प्रतिशत महिला आरक्षणको समेत व्यस्था गरेको छ । अहिले नेपालमा तीन हजारभन्दा बढी र झापामा ११० सहकारीहरू महिलाहरूद्धारा मात्र सञ्चालित छन् जुन सफल रुपमा परिचालित पनि रहेका देखिन्छन् । कूल नेपालको सहकारीको जनसंख्या मध्ये महिलाको उपस्थिति ४२ प्रतिशत र झापामा भने ५० प्रतिशत भन्दा माथि रहेको पाइन्छ । समाजमा मानिसहरूबीच धक फुकाएर बोल्न सहकारीले सिकाएको छ । सानोतिनो गर्जो टार्न तथा आर्थिक आवश्यकताका लागि महिलाहरूले श्रीमान्सँग हात थाप्नुपर्ने अवस्थाको अन्त हुँदै गएको छ । आफूले गरेको बचतबाट बाबू नानीहरूको स्कूल फि तिरी स्कूलमा पढाउन सक्षम हुंदै गएका छन् । अन्तरक्रिया गोष्ठीमा सहभागी हुँदा महिला हिंसामा कमी आएको छ । महिलाले महिलालाई गर्ने हिंसामा कमी आएको छ । महिलाका पक्षमा बहस पैरवी सहकारी मार्फत सशक्त बन्दै गएको छ । राज्यले महिलाहरूका लागि निर्माण गरेका स्वास्थ्य, शिक्षा, तालिम, आयआर्जन, गरीबी न्यूनीकरण, लघुवित्त, मानव अधिकार, सञ्चार, बातावरण, बालबालिकाका सम्बन्धी कार्यक्रमहरू सहकारीमार्फत प्रभावकारी हुने देखिएको छ । परम्परागत सामन्ती सोच र चिन्तनबाट मुक्त गराउन महिला आफै अगाडि सर्नुपर्ने हुन्छ । सामाजिक उत्तरदायित्व र जिम्मेवारीवोध गर्न सहकारीले सक्षम बनाउँदैछ । आधा आकाश ओगटेका महिलाको सहभागिताबिना विकास असम्भव रहेकाले पनि सहकारी मार्फत महिला नृतृत्व विकास गरी विकासलाई अपेक्षित बाटोमा हिँडाउन सकिन्छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)
npghimire33@yahoo.com

एमाले अध्यक्षमा ओली विजयी (पराजित नेपालले बधाई दिए)

पिपुल्स टाइम्स समाचार
झापा/नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष ओलीले अध्यक्षका प्रत्यासी एमाले पूर्व महासचिव तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ३९ मत अन्तरले पराजीत गर्दै जित दर्ज गरेका हुन् ।
मंगलबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्ष ओलीले १००२ मत प्राप्त गरेर विजयी भएका हुन् भने अध्यक्षका प्रत्यासी नेपालले ९६३ मत प्राप्त गरेका थिए ।
यसैबीच एमाले अध्यक्ष पदमा चुनाव हारेका नेता नेपालले  पार्टी अध्यक्ष पदमा विजयी नेता ओलीलाई बधाई दिएका छन् । निर्वाचन हारे लगतै मंगलबार साँझ वक्तव्य जारी गर्दै नेपालले पार्टीलाई एकतावद्ध बनाएर बुहदलीय जनवादको भावना अनुरुप अघि बढाउन आग्रह समेत गरेका छन् । उनले विज्ञप्ति मार्फत विजयी सम्पूर्ण पदाधिकारीहरुलाई समेत बधाई दिएका हुन् ।
वक्तव्य मार्फत नेपालले भनेका छन् –‘पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ उनले सबै मतदाताहरुलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।
पार्टीलाई थप बलियो र एकतावद्ध बनाएर अघि बढ्न सुझाव दिँदै नेपालले आफू सु–स्पष्ट विचार र असल संस्कृति सहितको जनताप्रति समर्पित पार्टी बनाउन लागि पर्ने समेत जिकिर गरेका छन् । नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य रहेको समेत नेपालले चर्चा गरेका छन् ।
यसैबीच ५ पार्टी उपाध्यक्ष पदका लागि दुई समूहबाट प्रतिस्पर्धा गरेका दश जना मध्ये ३ जना नेपाल समूहका विजयी बनेका छन् भने ओली समूहका २ जना विजयी भएका छन् भने
नेपाल समूहका भीम रावल      (१०८२), युवराज ज्ञवाली (१०२६), अष्टलक्ष्मी शाक्य (१००६) र ओली समूहका बामदेव गौतम (१०७७) र विद्या भण्डारी (१०९७) मत पाएर विजयी भएका छन् । एमाले महासचिव पदमा ओली समूहका ईश्वर पोखरेलले उनका प्रत्यासी सुरेन्द्र पाण्डेलाई २८ मत अन्तरले पछाडि पार्दै चुनिए । पोखरेलले १०५१ प्राप्त गरको थिए भने पाण्डेले १०३२ मत पाए ।
२ उप–महा सचिव पदमा भने नेपाल समूहका घनश्याम भुसाल     (१०४१) र ओली समूहका विष्णु पौडेल (१०४९) विजयी भए । ५ सचिव पदमा भने नेपाल समूहका योगेश भट्टराई (१०३८), गोकर्ण बिष्ट (१२०७) र भीम आचार्य      (९८१) तथा ओली समूहका प्रदीप ज्ञवाली (११०६) र पृथ्वी सुब्बा गुरुङ (९९६) निर्वाचित भए ।
यो समाचार तयार पार्दा सम्म पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएकाहरुको मत गणना कार्य जारी रहेको बुझिएको छ । पदाधिकारी तर्फ ओली समूह र नेपाल समूहका ७–७ जना पदाधिकारी निर्वाचित भएका छन् ।
गत असार १९ गते उद्घाटन भएको एमाले नवौँ महाधिवेशन असार २६ गतेसम्म चल्ने भनिएकोमा विद्युतीय मतदान नगर्ने निर्णय पछि मतपत्र छाप्ने लगायत विभिन्न प्राविधिक कार्यले लम्बिएको हो । एमाले स्रोतका अनुसार आज बुधवार दिउँसो सम्ममा केन्द्रीय सदस्य पदको समेत मत परिणाम प्राप्त हुने छ ।

                           झलनाथलाई ३४ मत
यसैबीच मतदानका क्रममा केही मतदाताले भने निर्वाचनमा उम्मेद्वारी नै नदिएका निवर्तमान एमाले अध्यक्ष झलनाथ खनाललाई समेत मत दिएका छन् ।
एमाले अध्यक्षका लागि प्रत्याशी रहेका माधव नेपाल र केपी शर्मा ओलीले अलग–अलग प्यानल बनाएर चुनाव लडे पनि केही मतदाताले भने अध्यक्षको कोष्ठ खाली राखेर झलनाथ खनालको नाम लेखेका हुन् । खनालका नाउँमा ३४ बढी मत परेको थियो ।

‘एउटा कहानी’ ल्याउने तयारीमा रत्न

नेपाली मूलका भूटानी  (शरणार्थी) गायक रत्न सुब्बा आफ्नो पहिलो सोलो एल्बम सहित सांगीतिक क्षेत्रमा छलाङ मार्ने अन्तिम तयारीमा छन् । बिगत ५ वर्षदेखि निरन्तर संगीत साधनामा जुटेका यी २५ वर्षे गायकले ‘एउटा कहानी’ नामक गीति एल्बम बजारमा ल्याउन लागेका छन् । शरणार्थी शिविर र आसपासका अन्य स्थानहरुमा थुप्रै सांगीतिक कार्यक्रमहरुमा जमेर प्रस्तुति दिइसकेका रत्नले संगीतप्रतिको मोह र स्रोताहरुको साथ र मायाले एल्बम तयारीका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
झापाको दमकस्थित बेलडाँगी–१ मा बसोवास गर्ने रत्नले ‘एउटा कहानी’ मा पप, लोक पप, आधुनिक र गजल गरी जम्मा ८ वटा गीत समेटिएको जानकारी दिए । उनले भने –‘सबै फ्लेवर रुचाउने स्रोतालाई लक्षित गरेर एल्बम तयार भएको छ ।’
चर्चित गायकहरु बाबु बोगटी, डम्बर नेपाली, स्वरुपराज आचार्य, सत्यराज आचार्य, संगीत प्रशिक्षक अनिल फागो र रत्न स्वयमले संगीत भरेका यस एल्बमका गीतहरुमा साहित्यकार प्रकाश आङ्देम्बे, नवराज लम्साल, अमृत खतिवडा, सूर्य लिम्बू र रत्न स्वयम्का रचना समावेश गरिएका छन् ।
तुलसी इन्टरटेनमेन्टले बजारमा ल्याउन लागेको एल्बमका सबै गीत रेकर्डिङ भइसकेको तथा सम्पादन कार्य जारी रहेको भन्दै रत्नले थपे –‘पहिलो एल्बम भए पनि अत्यन्तै मेहनत गरेर स्रोता सामु ल्याउन लागेको छु । आशा छ, सुनेर प्रतिक्रिया प्राप्त दिनुहुने छ ।’ हालसालै काठमाडौंको अनामनगरमा भेटिएका यी नवोदित गायक भन्दै थिए –‘एल्बममा जति गहकिला शव्दहरु छन्, संगीत पनि त्यति नै दमदार छन् । मैले पनि यी दुवैलाई न्याय गरेर स्वर दिएको छु भन्ने लाग्छ ।’ उनको स्वरको जादूले स्रोतालाई कतिको लठ्याउला ! त्यो हेर्न भने केही समय प्रतिक्षा गर्नु पर्ने भएको छ ।    

चारित्रिक प्रमाणपत्र लिन चर्को शुल्क

दमक/ झापाका निजी  र सामुदायिक विद्यालयले विद्यार्थीको चारित्रिक प्रमाणपत्र वितरण गर्दा चर्को शूल्क असुली गर्ने गरेको खुलासा भएको छ । विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेपछि निःशूल्क अथवा अति कम शूल्कमा वितरण गर्नुपर्ने चारित्रिक प्रमाणपत्रमा चर्काे रकम असुली गर्ने गरेको अभिभावको गुनासो छ । गत सालसम्म शनिश्चरे स्थित प्रगति सेकेण्डरी बोर्डिङ्ग स्कूलले एक हजार दुइ सय रुपैयाँ लिएको सोही विद्यालयमा अध्ययनरत विद्यार्थी जीवनका अभिभावक यादव पौडेलेले गुनासो गरेका छन् । निजी विद्यालयले आम्दानी बढाउने निहँुमा चर्काे शूल्क असुली गर्ने गरेको  पौडेलको गुनासो छ ।
यस बर्ष प्रगति स्कूलले एक हजार तीन सय रुपैयाँ लिने गरेको प्रगति सेकेण्डरी बोडिङ्ग स्कूलका प्राचार्य मातृका निरौलाले जानकारी दिए । उनका अनुसार चारित्रिक प्रमाणपत्रका लागि जिल्ला शिक्षा कार्यालयमा दुइ सय रुपैयाँ बुझाउनु पर्ने बाध्यता रहेको विद्यालयले उक्त रकम अशुल गरेको बताउँछन् । झापामा सञ्चालित एक हजार भन्दा बढी विद्यालयले नै शुल्क लिँदै आए पनि त्यसको अनुगमन गर्ने अधिकार पाएको निकायले चासो नदिएको अभिभावकको गुनासो छ । त्यति मात्रै होइन निजी विद्यालयको सिको गर्दै सामुदायिक विद्यालयले पनि प्रति विद्यार्थी एक हजार बढी चारित्रिक प्रमाणपत्रको शुल्क अशुल्ने गरेको पाइएको छ ।
कुनै कुनै सामुदायिक विद्यालयले उच्च मावि तह त्यहीँ पढ्ने भए ६ सय रुपैयाँमा चारित्रिक प्रमाणपत्र दिने गरेका छन् । तर अन्यत्र पढ्ने भए त्यसको शूल्क दुई हजार रुपैयाँ लिँदै आएका छन् । उता झापाका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीका अनुसार विद्यालयले बुझाउनु पर्ने दुइ सय रुपैयाँ चारित्रिक प्रमाणपत्रका लागि नभई परीक्षा नियन्त्रण कार्यालयले दिने प्रमाणपत्रका लागि हो । तर विद्यालयले चारित्रिक प्रमाणपत्रका लागि भन्दै अभिभावकसँग रकम असुल्दै आएका छन् । जिल्ला शिक्षा अधिकारी रेग्मीले भने,–‘चारित्रिक प्रमाणपत्रका लागि भनेर सरकारले रकम तोकेकै छैन । चारित्रिक प्रमाणपत्रका लागि भनेर रकम असुलेको गुनासो म कहाँ आएको छ । म खोजी गर्दैछु ।’

चौतारीद्वारा श्रष्टाहरु सम्मानित

बिर्तामोड/साहित्य चौतारी झापाले आफ्नो १५औं स्थापना दिवसको अवसर पारेर मंगलबार विभिन्न श्रष्टाहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमा यस वर्षको साहित्य चौतारी विशिष्ट सम्मानबाट वरिष्ठ लोकगायक एलपी जोशी सम्मानीत भएका छन् । स्वर्गीय भीमबहादुर र पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कारबाट मीरा कडरिया सम्मानित भएकी छिन् ।
यस्तै स्वर्गीय डिकमान विरही स्मृति पुरस्कारबाट साहित्यकार देवीचरण भण्डारी सम्मानित भएका छन् । स्वर्गीय धनमाया विमली स्मृति नवप्रतिभा पुरस्कारबाट नवोदित गायिका एनी गोम्देन, स्वर्गीय जेवी आले स्मृति फोटोग्राफी पुरस्कारबाट फोटो व्यवसायी राजेन्द्र खालिङ सम्मानित भएका छन् ।
चन्द्रशेखर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्य चौतारीका अध्यक्ष टङ्क विकल्पको अध्यक्षतामा भएको थियो ।

युवती बेच्न खोजेको आरोपमा पक्राउ

दूधे/ झापाको शिबगञ्जकी एक यूवतीलाई बेच्न खोजेको आरोपमा प्रहरीले  चार जना यूवाहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लामो समय देखि फोन सम्पर्कमा रहेका उनीहरु यूवतीले दिएको हुलियाका आधारमा शिबगञ्ज पुगेका थिए । ति यूवाहरुले आफ्नो घर  सिन्धुपाल्चोक, काठमाण्डौ र ललितपुर भएको बताएका छन् ।
यूवाहरु  गांउमा पुगेको थाहा पाएपछि गांउलेहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धानका लागी भन्दै नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक चिरन्जीवी दाहालका अनुसार फेसबुकबाट भेट भएका यूवक र यूवतीको  प्रेम बढ्दै गएपछि बिबाहको लागी भन्दै उनीहरु  शिबगञ्ज आइपुगेका थिए । आफूलाई बिबाह गर्ने भनि आएका गीरी थरका यूवकलाई प्रत्यक्ष भेट्दा यूवतीले मन नपराएपछि घटनाले अर्कै मोड लिएको प्रहरीको भनाइ छ ।
सोधपुछका क्रममा उनीहरुको नियत खराब नदेखिए नियन्त्रण मुक्त गरिने अन्थया अनुसनधान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेका यूवकहरुले आफूहरु यूवतीलाई बेच्न नभै बिबाह गर्न आएको प्रहरीलाई बताएका छन् । तर यूवतीले यस बिषयमा कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।

तीनवटा सामुदायिक वन पुरस्कृत

इलाम/जिल्ला वन कार्यालय इलामले जिल्लाका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई सोमबार पुरस्कृत गरेको छ ।
नमुना सामुदायिक वन उपभोक्ता समूह दानाबारी–३ पहिलो, बगैँचासेरो सामुदायिक वन उपभोक्ता समूह चिसापानी–३ र ५ दोस्रो, भेँडीचोक सामुदायिक वन उपभोक्ता समूह माईपोखरी–६ तेस्रो तथा बरबोटे सामुदायिक वन उपभोक्ता इरौँटार–७ र कहरे सामुदायिक वन उपभोक्ता समूह चमैता–६ सान्त्वना भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच हजार रुपैयाँ, तीन हजार रुपैयाँ र दुई हजार रुपैयाँ, प्रमाणपत्र तथा सान्त्वना हुनेलाई प्रशंसा पत्र वितरण गरिएको छ । क्षेत्रीय वन निर्देशक डा. राजनकुमार पोखरेलले सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । पुरस्कृत हुने वन उपभोक्ता समूहले वन व्यवस्थापन, संरक्षण, डढेलो नियन्त्रणलगायतका गतिविधिको मूल्याङ्कनका आधारमा छनोट गरी पुरस्कृत गरिएको जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले बताए ।
गजुरमुखी इलाका वन कार्यालय सुखानीको दक्षिणी सेक्टरमा आयोजित कार्यक्रममा निर्देशक पोखरेल, जिल्ला वन अधिकृत काफ्लेलगायतले आगामी दिनमा वन समूह अझ सशक्त भई व्यवस्थापनमा जुट्न लाग्नुपर्नेमा जोड दिए ।

कन्काईमा बास्केटबल प्रतियोगिता हुने

बिर्तामोड/नेपाल विद्यार्थी संघ झापाले जिल्लास्तरीय अन्तर क्याम्पस बास्केटबल प्रतियोगिताको गर्ने भएको छ ।
यही साउन ४ र ५ गते जिल्लास्तरीय बास्केटबल गर्न लागेको हो । सोमबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । प्रतियोगितामा झापाका करिब दशवटा क्याम्पसहरू सहभागी रहने पत्रकार भेटघाटमा नेविसंघ झापाका उप सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद पुरस्कार दश हजार र आठ हजार रुपैयाँ तथा ट्रपी प्रदान गरिने जनाइएको छ । कन्काई क्याम्पस बिर्तामोडको प्राङ्गणमा हुने बास्केटबल प्रतियोगिताको उद्घाटन क्याम्पसका संस्थापक अध्यक्ष जयनारायण ढुंगानाबाट हुने नेविसंघ उपसभापति उप्रेतीले जानकारी दिए । प्रतियोगितको खर्च करीब तीन लाख रुपैयाँ रहेको बताइएको छ ।
बास्केटबल प्रतियोगितालाई काठमाण्डौ भित्र मात्र सीमित नराखेर बाहिर समेत विस्तार होस् भन्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको नेविसंघ जिल्ला सदस्य मोहन गुरुङ्गले बताए ।

पीडित परिवारलाई राहत

लखनपुर/सशस्त्र प्रहरीको गोली लागि एक वर्ष अघि मृत्यु भएका झापाको लखनपुरका एक व्यक्तिको परिवारले राहत पाएको छ ।
गत वर्षको वैशाख ३१ गते सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका प्रहरीले तालिमका क्रममा चलाएको गोली लागि मृत्यु भएका लखनपुर– १ का सुरेश राईको परिवारले सरकारबाट १० लाख रुपैयाँ राहत पाएको हो । राहतका लागि स्थानीयबासी, राजनीतिक दल तथा परिवारले आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष पारषमणि राईको संयोजकत्वमा संघर्ष समिति नैं बनाएर आन्दोलित हुँदै आएका थिए । सोमबार झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले मृतककी श्रीमती मिलन राईलाई १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । रतुवा माई वृक्षारोपण आयोजनामा मजदुरी गर्दै आएका राईलाई काम गरिरहेकै अवस्थामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।