‘आफ्नै बिरानो भएपछि.....’ – दोस्रो लेख

प्रविण बानिया
माओवादी भित्रको अन्तरकलह फेरि एक पटक चर्किएको छ । केहि समय अघि केन्द्रीय समितिको बैठकबाट माओवादीले पार्टी एकता मजबुत भएको र तत्कालका लागि सबैखाले समस्याहरु सल्टिएको सन्देश लिएर बाहिर आएको थियो । तर, पार्टीभित्रको असन्तुष्ट ‘वैद्य पक्ष’ घोषित रुप नै पार्टी संस्थापन पक्ष विरुद्ध खरो उत्रिएको छ । ‘वैद्य पक्ष’को घोषणा र कार्यत्रण्म हेर्दा ऊ पक्षको विचार समूहले पार्टी शुद्धिकरणका लागि भन्दा बढि वर्तमान भट्टराई नेतृत्वको सरकार विस्थापनको मूख्य शर्त बनाएर आन्दोलनको घोषणा गरेको छ । आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको विरुद्धमा सडक, सदन र पार्टीबाट कडा विरोध गर्ने र ‘सरकारलाई गलाएरै छाड्ने’ रणनीति अख्तियार गरेको ‘वैद्य पक्ष’ यसपटक राम्रै तयारीका साथ मैदान उत्रिएको देखिन्छ ।
वैद्य पक्षीय नेतृत्वको आयोजनामा राजधानीको होटल ¥याडिसनबाट आन्दोलनको लामो फेहरिस्त सार्वजनिक गरेको ‘वैद्य पक्ष’ले यो आन्लोलनलाई ‘जनसंघर्ष’ भनेको छ । यो विरोधको कार्यक्रमलाई उसले ‘जनसंघर्ष’ भनेर बढि जोड दिएको छ । आफ्नै उपाध्यक्ष नेतृत्वको सरकारलाई ‘वैद्य पक्ष’ले ‘आत्माघाती, राष्ट्रघाती, जनविरोधी, भ्रष्ट सरकार’को आरोप लगाउँदै सरकारको औचित्य समाप्त भइसकेको निष्कर्ष समेत निकालेको छ । केहि समयअघि पार्टीको केन्द्रीय समितिले निर्णय गरे अनुसार सरकारबाट फिर्ता नआएको, जनभावना बिपरित सरकार अघि बढेको, जनजिवीकाका पक्षमा काम नगरेको, भ्रष्टचारलाई प्रश्रय दिएको भन्दै ‘वैद्य पक्ष’ले तयारी र योजनाका साथ सरकार विरुद्धमा सडक संघर्ष तताउने चर्काे उद्घोष गर्नु समयको घडिमा निकै अर्थपूर्ण ढङ्गले हेरिएको छ । ‘वैद्य पक्ष’को यो घोषणाले नजिकिदै गरेको जेठ १४ माथि पनि संशय जन्माइदिएको छ ।
‘अघिल्लो केन्द्रीय समितिको बैठकको निर्णयलाई पार्टी अध्यक्ष प्रचण्डले कार्यान्वयन नगरेको’ असन्तुष्ट पक्षको आरोप छ । ‘सरकार जनसंविधान निर्माणको बाटोबाट पछि हट्दै गएको र पार्टीलाई आत्मासमर्पणको दिशामा कित्तामा उभ्याएको’ निचोड समेत उसले निकालेको छ । तत्काल जनंघर्ष कहिलेदेखि गर्ने भनेर मिति तय नगरे पनि ‘वैद्य पक्ष’ले समान विचारका अन्य दलहरुसँगको छलफलबाट चाँडै कार्यक्रम तय गरिने जनाउ दिएको छ । ‘वैद्य पक्ष’ को तयारीलाई हेर्दा पार्टी भित्रको ‘लाईन संघर्ष’ भन्दा पनि तत्काल सरकार कसरी ढाल्न सकिन्छ भन्ने कित्ताबाट अघि बढेको छ । शान्ति र नयाँ संविधानको भविष्यको बारेका अनेकन टिका–टिप्पणी हुन थालेका बेला ‘वैद्य पक्ष’ यो तयारीले समग्र शान्ति प्रक्रियामाथि नै सन्देह पैदा गरिदिएको छ ।
कतिले ‘वैद्य पक्ष’ को यो कदमलाई ‘पद र शक्तिहिनताको छट्पटाहट भनेका छन् । माओवादीको संस्थापन पक्ष स्वंले यसलाई ‘पार्टीको निर्णय, नीति बिपरित र अराजक कदम’ भनेर भनेको छ । अर्कातर्फ ‘वैद्य पक्ष’ को तयारीलाई हेर्दा उसले प्रमुख विपक्षीका रुपमा रहेका नेपाली कांग्रेस र एमालेसँग पनि सरकार विस्थापन सम्बन्धमा छलफल अघि बढाइरहेको छ । उसो त प्रमुख दलका शीर्ष नेतृत्व हाललाई सरकार भन्दा पनि शान्ति र संविधानलाई प्राथमिकता दिइने भन्दै सघन छलफल र वार्तामा पनि बसिरहेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले केहि दिनमै शान्ति प्रक्रियामा ‘ब्रेक थ्रु’  हुने भनिरहेका बेला आफ्नै पार्टीभित्रबाट शुरु भएको यो विरोधले सरकारलाई कहिँ न कहिँबाट अप्ठेरामा पारिदिएको छ । वैद्य विचार समूहको यो विरोध पार्टी फुटको लागि तयारी भएपनि या नभए पनि सरकार सञ्चालन र शान्ति प्रक्रियाको नेतृत्व गर्ने सवालमा सरकार र पार्टीको नैतिक हैसियतलाई कमजोर बनाउँदै लगिरहेको छ ।
विरोध र आन्दोलनको अन्र्तवस्तु हेर्दा वैद्य विचार समूहको यो कदम बढि जनजिवीकाका पक्षमा उठेको छ । जनजिवीकाका पक्षसँग जोडिएका विषयहरुलाई उसले आफ्ना एजेण्डा बनाएको छ । जनताका समस्याहरु लिएर जनसंघर्षका उत्रिने उसको घोषणाले जारी शान्ति प्रक्रियालाई अवरुद्ध पार्ने भय अगाडि छ । अर्कातर्फ ‘जनसंविधान’ बन्ने सम्भावना तुहिँदै गएकोतर्फ नजरअन्दाज गर्दै ‘वैद्य पक्ष’ले जेठ १४ पछि सम्भावित ‘जनविद्रोह’को घोषणा पनि गरेको छ । पार्टीका निर्णय र एजेण्डाहरु नेतृत्वले क्रमशः छोड्दै गएकाले पार्टी र सरकारको विरुद्धमा जनसंघर्ष गर्नुपरेको उसको दाबी छ । तर, पार्टी नेतृत्व यसलाई स्वीकार्न तयार छैन । शान्ति र संविधानसँग जोडिएको केहि महत्वपूर्ण विवादहरु आजसम्म पनि जस्ताको तस्तै रहिरहेका बेला ‘वैद्य पक्ष’ले सेना समायोजनको सवालमा पद मिलानलाई ‘बटमलाईन’ बनाउँदै आएको छ । पार्टीभित्र ‘हार्डलाइनर’का रुपमा स्थापित ‘वैद्य पक्ष’ जनसंविधान बन्ने अवस्था नरहेकाले जनविद्रोहको तयारीको विकल्प नरहेको निष्कर्ष निकाल्छ ।
पार्टीभित्र प्रचण्ड ‘दुई लाइन संघर्ष’का बीचमा उभिदै आएका छन् विगतदेखि नै । कहिले भट्टराई र कहिले वैद्यको कित्तामा उभिदै आएका प्रचण्ड आजसम्म पार्टी नफुटी यहाँसम्म आउनुको श्रेय उनैमाथि नै जान्छ । गत बर्षको पालुङटार बैठकबाट ‘जनविद्रोह’को लाईन समातेर मैदान उत्रिएका प्रचण्ड फेरि पछि ‘तत्काललाई जनविद्रोहलाई स्थगित गरेर शान्ति र संविधानमा अग्रसर हुने’ भन्दै कोल्टो फेरेका थिए । त्यसैबेलादेखि चिडिदै आएको ‘वैद्य पक्ष’ले लगातार पार्टी संस्थापन पक्षको कडा विरोध गर्दै आइरहेको छ । भट्टराई नेतृत्वको सरकारमा पनि वैद्य पक्ष सामेल भएन । साँचो हस्तानतरण, बिप्पा सम्झौता, क्रान्तिकारी भूमिसुधार आदिका विषयमा उसले सडक आन्दोलन पनि राम्रैगरी ततायो ।
‘वैद्य पक्ष’ पार्टीभित्र ‘हार्डलाइनर’का रुपमा स्थापित छ । सँगै ऊ क्रान्तिप्रति सदैव निष्ठावान र अडिग पनि । खास गरी बाबुराम वैद्यको क्रान्तिप्रतिको निष्ठाका कारण भयवित छन् । प्रचण्डको ढुलमुले चरित्रबाट उनी ढुक्क देखिनन् । उता, दाहाल वैद्यको ‘निष्ठाको क्रान्ति’ र भट्टराईको ‘व्यक्तित्व’बाट भयवित छन् । त्यसकै कारण आजसम्म प्रचण्ड दुई नेताका बीचबाट खेल्दै आइरहेका छन् । वैद्य, बाबुरामलाई यथास्थितीवादी ठान्छन् । क्रान्तिप्रतिको उनको अविश्वासकै कारण वैद्य र भट्टराई लामो समयदेखि ‘दुई लाईन संघर्ष’मा विभाजित हुँदै आएका छन् । बेलाबेला ‘तीन लाईन संघर्ष’ जस्तो देखिने माओवादीभित्र अन्र्तवस्तुमा ‘दुई लाईन संघर्ष’ हो । तर, समय र मुद्धाले गर्दा पार्टीलाई तीनवटा धारमा उभ्याउँछ बेलाबेला । यद्यपी, पार्टीभित्र अध्यक्ष दाहालको व्यावहार शैली नै पार्टी अन्र्तसंघर्षको प्रमुख जड हो । लाइन संघर्षकै कारण पार्टी बारम्बार कलहमा फस्दै आउनु दूर्भाग्यपूर्ण छ ।
किन्तु, जारी शान्ति प्रक्रिया उच्च संक्रमणबाट गुज्रिरहेका बेला ‘वैद्य पक्ष’ ले घोषणा गरेको यो आन्दोलनले शान्ति प्रक्रियालाई फेरि पनि अवरोध गर्ने निश्चित छ । सेना समायोजनको मुद्धा सल्टिनसकेको अवस्थामा यो खलबलले अल्झन पैदा गर्नेमा शङ्का छैन् । संविधानसभाको समय सकिन मुस्किलले ७० दिन भन्दा ज्यादा नरहेको अवस्थामा घोषित रुपमा सरकार ढाल्ने खेलमा लाग्नुले परिणामा सुखद् निकाल्ने गुञ्नायस कतै पनि छैन । खास गरी माओवादी पार्टीभित्रको जारी असमझदारीहरु हल नहुने र पार्टी एकढिक्को भएर शान्ति प्रक्रियामा नउभिने हो भने जारी शान्ति प्रक्रिया भङ्ग हुन सक्ने खतरा सामुन्नेमा छ । अहिले बाहिर आएको माओवादी कलहलाई यथाशक्य व्यावस्थापन गरेर पार्टीलाई कम्तिमा पनि जेठ १४ सम्म शान्ति र संविधानका लागि उभ्याउन नेतृत्वले सक्नुपर्दछ । अन्यथा, आजसम्म शान्ति प्रक्रिया निष्कर्षमा नपुग्नु र लम्बिदै जानुको सम्पूर्ण दोष माओवादीको टाउकामा खनिनेछ ।

0 प्रतिकृया:

Post a Comment